~ खप्तड डायरी ~
मित्र दिनेश चौधरीको फोन आयो, कामका कुरा सकिएपछि अन्त्यमा वहांले प्रश्न सोध्नुभयो के छ त बिदाको प्लान? मसङ्ग खासै केही प्लान नभएर अनुत्तरित भए र प्रतिपश्न गरे त्यता के प्लान हुंदैछ? खप्तड जाने सोच छ, आज बेलुका नै हिंड्न सक्ने मनस्थिति छ, वहांले भन्नुभयो। ल रमाइलो गर्नु यार भने र हाम्रो फोन सम्बाद त्यहिं सकियो।
मनमनै सोचे, सुदुरपश्चिमको सुन्दर भूमिमा पाइला त टेक्नै पर्छ। कामबाट विश्राम लिएर कहिलेकाहिं प्रकृति नियाल्न पनि त पर्यो ।
यसपटक मैले फोन गरे, म पनि जान्छु। ल तिमी पनि आउने हो भने आज सांझ नै झोता आउनु, भोलि बिहानै हिंडौंला यताबाट, मित्रले रिप्लाइ गर्नुभयो। सोहिअनुरुप बैतडीबाट हामी ४ जनाको समुह हिड्ंयौ। भोलिपल्ट बिहान झोताबाट मित्र दिनेश सहित ६ जना खप्तड यात्रामा निस्कियौं।
खप्तडमा घुम्नका लागि थुप्रै ठाउं रहेछन; घोडा दाउना पाटन, त्रिवेणी पाटन, गणेश पाटन, पुलपुला पाटन, खापर दह, बुकि दह, त्रिवेणि मन्दिर, खप्तड बाबा आश्रम, केदार ढुङ्गा, सहस्रलिङ्ग, सितापाइला मन्दिर।
खप्तडको अनुपम सौन्दर्यले मन आह्लादित बनायो। ति हरितपुर्ण पाटनहरुले मन रंगीचङ्गी बनायो। खापर दह पुग्दा यस्तो लाग्यो म यहां, यो दह हेर्दै दिनभरि रमाउन सक्छु। स्वच्छ, निश्चल र निस्फिक्रि आफ्नै आकारमा फैलिएको दह हेर्दा मोहित नहुने सायदै कम मानिस होलान। स्वामी सच्चिनानन्द (खप्तड बाबा) आश्रम, सहस्रलिङ्ग, त्रिवेणी मन्दिर पुग्दा प्रार्थना गरि मनका इच्छा पुरा गरिदिन भनि आशिर्वाद मागे।
गन्तव्यमा पुग्दा एक किसिमको आनन्द त आउछ तर त्यति नै आनन्द त गन्तव्यमा चालिएका पाइलाले त्यो भूमि संग गरिरहेको भलाकुसारिमा पनि हुनेरहेछ। हिड्दै जांदा अनेक थरी फुलहरु देखिन्थे, स्वच्छ पानी बगिरहेका स-साना खोलाहरु देखापर्थे। फुलहरुका सुवास र खोलाको त्यो वेगको आवाजले यात्रा अझ रोमाञ्चित बनाउथ्यो। यहां बहिरहने निश्चल हावा, जो बेपर्वाह आफ्नै बेगमा छ, जसमा लेकाली सुबास महसुस गर्न सकिन्छ। म त्यहि हावाको स्पर्शले मन्त्रमुग्ध हुन्थे। मन पुलकित हुन्थ्यो।
साथमा भएका साथिहरुसंग अनगिन्ति यादका धागोहरु बुनियो जुन अब स्मृतिमा रहिरहनेछन अजर अमर।
सुन्दर खप्तडसंगको यो छोटो भेट अविस्मरणीय रह्यो। यो पटक समयअभावले घुम्न नसकेका खप्तडकै केहि क्षेत्र आगामी दिनमा पुनः घुम्ने मौका जुरे अवश्य घुम्नेछु।
जय सुन्दर खप्तड, फेरि भेटौंला।

Comments
Post a Comment